दफा १४
अनुसन्धानको लागि हिरासतमा राख्न सकिने अवधि र तत्सम्बन्धी कार्यविधि
(१) कुनै ब्यक्तिलाई कसूरको अनुसन्धानको लागि यस परिच्छेद बमोजिम पक्राउ गरेपछि चौबीस घण्टाभित्र जतिसक्दो चाँडो मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।
(२) उपदफा (१) विपरीत हुने गरी कसैलाई हिरासतमा राख्न सकिने छैन ।
(३) कुनै ब्यक्तिलाई उपदफा (१) मा लेखिएको म्यादभन्दा बढी हिरासतमा राख्नु परेमा अनुसन्धान अधिकारीले त्यसको आधार र कारण खुलाई सरकारी वकिल कार्यालय मार्फत मुद्दा हेर्ने अधिकारी समक्ष अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि चौबीस घण्टाको अवधिभित्र पक्राउ परेको ब्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनको लागि पक्राउ गरिएको ठाउँबाट प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालयमा ल्याउन वा प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकारप्राप्त कार्यालयबाट अदालतमा पुर्‍याउन बाटोमा लाग्ने अवधिलाई गणना गरिने छैन ।
(४) अनुसन्धान अधिकारीले मुद्दा हेर्ने अधिकारी समक्ष उपदफा (३) बमोजिम निवेदन दिँदा हिरासतमा रहेको ब्यक्ति उपर लागेको अभियोग, त्यसको आधार, निजलाई हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने कारण र निजको बयान भइसकेको भए बयान कागज अनुसारको व्यहोरा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम हिरासतमा राख्ने अनुमतिको लागि उपस्थित गराइएको ब्यक्तिले चाहेमा आप्mनो शारीरिक जाँच गरी पाउनका लागि मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(६) अनुसन्धान अधिकारीले कुनै ब्यक्तिलाई उपदफा (३) बमोजिम हिरासतमा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरु हेरी अनुसन्धान सन्तोषजनक रुपमा भएको वा नभएको विचार गरी, आवश्यक देखिए सम्बन्धित कानून व्यवसायीको बहस समेत सुनी अनुसन्धानको लागि हिरासतमा राखी राख्न आवश्यक भएको देखिएमा एकै पटक वा पटकपटक गरी बढीमा पच्चीस दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।
(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ अन्तर्गतको कसूरमध्ये राष्ट्रपति उपरको आक्रमण, जासूसी, सैनिक भड्काउने, नेपाल राज्य विरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहयोग गर्ने वा विस्फोटक पदार्थ, अपहरण र शरीर बन्धक सम्बन्धी कसूरको अनुसन्धान उपदफा (६) बमोजिम दिएको समयावधिभित्र पूरा हुन नसक्ने भन्ने कारण सहितको प्रतिवेदन अनुसन्धान गर्ने अधिकारी तथा सरकारी वकिल दुवैले संयुक्त रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सक्ने छन् ।
(८) उपदफा (७) बमोजिमको प्रतिवेदन पेश हुन आएमा अनुसन्धानको स्थिति हेरी मुद्दा हेर्ने अधिकारीले एकै पटक वा पटकपटक गरी बढीमा थप पन्ध्र दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्नेछ ।
तर कुनै पनि अभियोग लागेको ब्यक्तिलाई त्यस्तो अभियोग ठहर भएमा निजलाई हुन सक्ने कैदको अवधिभन्दा बढी हिरासतमा राख्न सकिने छैन ।
(९) उपदफा (६) वा (८) बमोजिम मुद्दा हेर्ने अधिकारीले हिरासतमा राख्ने आदेश दिँदा कारण सहितको पर्चा खडा गर्नु पर्नेछ ।
(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, बालबालिका र पचहत्तर वर्ष नाघेको ब्यक्तिलाई कसूरको प्रकृति हेरी अनुसन्धान अधिकारीले थुनामा नराखी अनुसन्धान गर्न मनासिब देखेमा सोको कारण खुलाई पर्चा खडा गरी तारिखमा राखी अनुसन्धान गर्न सक्नेछ ।